Breaking News
Home / मनोरञ्जन / गायिकाहरूको ड्रेस सेन्स

गायिकाहरूको ड्रेस सेन्स

अचेल दर्शकश्रोताको मन जित्न स्वर मात्र पर्याप्त हुँदैन । पर्फर्मेन्स र स्टाइलमा पनि ध्यान दिनुपर्ने हुन्छ, जसमा ड्रेसअपले ठूलो अर्थ राख्छ । गेटअप चिटिक्कको भयो भने दर्शकश्रोताको आधा मन त्यसै जितिन्छ ।

गायिका मेलिना राई पहिरनको छनोट कसरी गर्ने भन्नेमा निकै गम्भीर हुन्छिन् । ‘खास गरी रातको समयमा कार्यक्रम पर्‍यो भने धेरै सचेत हुन्छु,’ उनी भन्छिन्, ‘किनकि अँध्यारोमा दर्शकश्रोताको ध्यान तान्न पहिरनले पनि सघाउँछ ।’

नाइट प्रोग्रामका लागि ब्राइट डिजाइन्ड पहिरन सुहाउने उनको अनुभव छ । ‘डेमा त क्याजुअल नै फिट हुन्छ,’ उनी भन्छिन् । जिन्स र टिसर्टमा सहज अनुभव गर्ने उनीसित गाउन लगाएर पनि प्रस्तुति दिएको अनुभव छ । तर, सहजताको हिसाबले गाउन पहिरन गाह्रो हुने उनी बताउँछिन् । अचेल भने उनी छरितो र आफ्नो शरीरमा सुहाउने डिजाइन गर्न लाउँछिन् ।

एक महिनापछि कार्यक्रम प्रस्तुतिका लागि यूके जान लागेकी मेलिनाले थुप्रै ड्रेस डिजाइन गर्न अर्डरसमेत दिइसकेकी छन् । ‘गुड लुकिङ, गुड रिजल्ट’ भन्ने उनको मान्यता छ । त्यसैले आफ्नो व्यक्तिव झल्काउन उनी पहिरन छनोटमा विशेष चनाखो हुनुपर्ने बताउँछिन् ।

त्यस्तै, गायिका रितु कँडेल आफूलाई आधुनिक र फेसनेबल कुर्थामा राम्रो देखिने बताउँछिन् । त्यसैले सांगीतिक कार्यक्रमहरूमा उनी प्राय: कुर्थामै सजिएकी हुन्छिन् । १० हजारदेखि २० हजार रुपैयाँसम्मको लगानीमा उनले कुर्था डिजाइन गरेकी छन् । ‘डिजाइन सुहाउँदो भए पैसाको मतलब गर्दिनँ,’ उनी थप्छिन्, ‘अचेलका दर्शकश्रोता राम्रो देख्न चाहन्छन् ।’

गायिका सुनीता दुलाल पनि पहिरन छनोटमा उत्तिकै कन्सस हुन्छिन् । अरू बेला टिसर्ट पाइन्ट, गाउन, कुर्था जस्ता क्याजुअल ड्रेस लगाए पनि कार्यक्रममा सहभागी हुँदा उनी सारी नै रोज्ने गर्छिन् । तर, पछिल्लो समय उनको सारी छनोट गर्ने मटेरियल भने फरक हुन थालेको छ । हेभी, जर्जियट र गहना भरिएका सारी उनले सकेसम्म कम प्रयोग गर्न थालेकी छन् । सिफन र सिल्कका सारी लगाउँदा गाउँदै नाच्न सहज हुने उनले सुनाउँछिन् ।

‘हेभी एम्ब्रोइड पहिरन सकेसम्म कम लगाउन थालेकी छु,’ उनी भन्छिन् । अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायतमा रहेका नेपाली दर्शकश्रोताले उनीसँग सामाजिक सञ्जालबाटै ब्राइडल पहिरन मगाउने गर्छन् । एक महिनाको अवधिमा नेपालमै बस्दा उनले थुप्रै पहिरन दर्शकश्रोताका लागि तयार पारेकी छन् । उनी मे महिनाको पहिलो साता अमेरिका जाँदै छिन् ।

गायिका मञ्जु पौडेलका फयानहरू पनि उनको पहिरनको प्रशंसा गर्छन् रे । मुलुकभित्र होस् या बाहिर, सांगीतिक कार्यक्रममा सहभागी हुँदा दर्शकश्रोताबाट आफूले पहिरन छनोटका लागि राम्रै तारिफ पाउने उनी दाबी गर्छिन् । ‘बरु गहनामा खासै चासो राख्दिनँ,’ उनी भन्छिन्, ‘कपडामा चाहिँ नो कम्प्रोमाइज ।’

‘स्वरको निर्खानुसँगै ड्रेस सेन्स पनि राख्न जरुरी छ,’ मञ्जु भन्छिन्, ‘विदेशका दर्शक त तपार्इंकै जस्तो पहिरन कसरी बनाउने भन्दै आइडिया माग्दै आउँछन् ।’

कुनै समय आफूले कमाइको ठूलो हिस्सा पहिरनमै खर्च गरेको उनको अनुभव छ । अचेल भने भइरहेकै कपडामा अलिकता कन्ट्राक्स लुक्स दिएर फेरबदल गरी नयाँ ड्रेस बनाएर लगाउने गर्छिन् उनी । ‘पहिलेकै लेहंगामा चोली नयाँ किनेर लगाए डिफरन्ट देखिहाल्छ नि,’ उनको फेसन टिप्स छ, ‘ड्रेसको कलात्मकता त्यसको प्रयोग गर्ने तरिकामा हुन्छ ।’

About Nijgadh News

Check Also

कस्तो अच्चम : धेरै सेक्सी भएको भन्दै नायिकालाई मन्त्रालय बोलाइयो, १ वर्ष फिल्म खेल्न प्रतिबन्ध

एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ। देशको संस्कृति मन्त्रालयले नै ‘धेरै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *